मनाइयो पञ्चदान महापर्व

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ भदौ: सत्ययुगमा दीपंकर बुद्धलाई दानशालामा पहिलोपटक पञ्चदान दिएको विशेष दिनकारुपमा आज देशभरि छरिएर रहेका बौद्ध धर्मावलम्बीले पञ्चदान महापर्व मनाएका छन् । दिपंकर बुद्धको पालादेखि चल्दै आएको पञ्चदान महापर्व नेपालमण्डलको अहिलेसम्मकै विशिष्ट पर्व मानिन्छ ।

काठमाडौँ र भक्तपुरमा आजै पञ्चदान गरिने परम्परा छ । बौद्ध धर्मावलम्बी नेवारको ठूलो पर्व मानिएको पञ्चदान भने ललितपुरमा श्रावण शुक्लपक्ष अष्टमीका दिन आयोजना गरिएको थियो । काठमाडौँ, भक्तपुर, थिमि बनेपा, साँखु, पनौतीलगायत ठाउँमा भने प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीमा यो पर्व मनाइन्छ ।

बौद्धधर्मावलम्बीले दानशालामा तयार पारिएको खीर, फलफूल दिपंकर बुद्धलाई चढाई पञ्चदान पर्व मनाइयो । पञ्चदानका दिन (पन्चराँ कुन्हुं) बौद्धधर्माबलम्बीहरु स्वयम्भू महाचैत्य दर्शन गरी पूजा गरेर स्वयम्भूमा दान प्रदान गरेर फर्किन्छन् । नेपाल संवत्अनुसार गुँलागा त्रयोदशीका दिनलाई कलियुगको उदय भएको दिनकारुपमा पनि लिइन्छ ।

यो दिन भगवान बुद्ध, दिपंकर बुद्ध र बुद्धधर्मलाई ग्रहण गर्दै आएका बज्रयान बौद्ध धर्मावलम्बी तथा बज्राचार्य, शाक्यलाई पिण्डपात्र, धान, केराऊ, सिसाबुसा, दक्षिणा आदि दान दिने गरिन्छ । पञ्चदानको अघिल्लो दिन अर्थात् मङ्गलबार बौद्ध धर्मावलम्बी आफ्नो घर शुद्धाशुद्धी तथा स्नान गरी दिपंकर बुद्ध तथा अन्य बुद्धको मूर्ति, तस्वीर तथा पौभाचित्र जसमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक लुम्बिनी जाँदै गरेको पौभा चित्र घरघरमा तथा विशेषरुपमा सजाइएका कोठामा सजाएका थिए ।

भक्तपुरको पञ्चदान पर्व
भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा दिपङ्कर बुद्धको परिक्रमा गराई भव्यरूपमा मनाइने पञ्चदान पर्व आज भक्तपुर र मध्यपुरथिमिमा मनाइएको छ । आज भक्तपुरको सूर्यमढीबाट सुरु भएको पञ्चदान पर्व एवं भक्तपुरका विभिन्न स्थानमा रहेका दीपङ्कर बुद्धलाई नगर परिक्रमा गरी थथुवहीस्थित भुइख्यलमा ल्याई बौद्ध धर्मावलम्बीको धार्मिक विधिअनुसार पूजाआजा गरी पाँच दीपङ्कर बुद्धलाई पूजा गरिएको छ ।

बुद्धको पाँचस्वरूपमध्ये पाँच बिहारहरु भक्तपुरको प्रमुख क्वाठन्डौँको प्रसन्नशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, त्यसैगरी साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही, महाविहार र दूधपाटीको कथुबही महाविहारबाट दीपङ्कर निस्किएर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गरिएको दिपङ्कर सूर्यमढीको आश्री पदम बिहारमा आएर एकै ठाउँ भेला भएको थियो । आज बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्यन, वाहवाही भिक्षुलाई भिक्षा दान दिइएको छ ।

दीपङ्कर बुद्धलाई विशेष गरी पञ्चदानका रूपमा चामल, सुपारी, धान, मकै, गहुँ, भटमास, ढिके नून, पैसा, सुन चाँदी आदि चढाइछ । यही अवसर पारी भक्तजनले दीपङ्कर बुद्धलाई जमीनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ ।

बौद्ध धर्मावलम्बीका अनुसार दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेतले नगर परिक्रमा गरी पञ्चदान भिक्षाग्रहण गरेका छन् । बौद्ध धर्मावलम्बीले आजको दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनआस्था रहेको स्थानीय पुष्परत्न शाक्यले बताउनुभयो ।

नेपाल सम्वत् ५१२ मा शिवदेव त्रितियाको शासनकालमा पैसासमेत राखेर पञ्चदान पर्वका लागि गुठी सञ्चालन गरिएको ताम्रपत्रमा उल्लेख भएअनुसार यो पर्व ने.स. ५१२ भन्दा अगाडि नै शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिनलाई सत्ययुगको उदय भएको दिनको रुपमा मानिन्छ, साथै धानका देवताका रुपमा समेत मानिने भएकाले धान लगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।”

बुद्ध धर्ममा दानको असत महत्व भएकाले आजको दिनमा जसल जति सक्छ त्यति दान दिने मान्यता अनुसार विशेष शाक्य, मानन्धर, बज्राचार्य लगायत नेवार समुदायले दान दिने प्रचलन रहेको छ । विहान निस्किएको दिपंशरको नगर परिक्रमा अपराह्न ४ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया