गाई–गोरु मृत्यु घटनामा बेग्लाबेग्लै छानबिन

राष्ट्रिय समाचार समिति

सुर्खेत, १७ भदौ: गाई–गोरु मृत्यु घटनामा सरोकारवाला निकायले बेग्लाबेग्लै छानबिन समिति बनाई अनुसन्धान शुरु गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिका र कर्णाली प्रदेश प्रहरी कार्यालयले बेग्लाबेग्लै अनुसन्धान थालेका हुन् ।

गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई कार्यादेश प्राप्त भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । गृहद्वारा गठित छानबिन टोली घटनास्थल सुर्खेत आइपुगेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले कानून व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आज गाई–गोरु मगाइएको भनिएका दैलेखका स्थानीय तह र शिरस्थान मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसँग सोधपुछ गरेको छ । समितिका प्रवक्ता अधिवक्ता वसन्त गौतमले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसँग स्थलगत सोधपुछ गरिसकेको जानकारी दिनुभयो ।

समितिसमक्ष दैलेखका जनप्रतिनिधिले आफूहरुबाट लिखित÷मौखिक कुनै हिसाबले पनि गाई–गोरु माग नगरेको जवाफ दिएका छन् । समितिले बुधबार सुर्खेत आएर घटनास्थल अवलोकन, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी–प्रशासन, नागरिक समाज र सञ्चारकर्मीसँग घटनाबारे सोधपुछ गर्ने बताइएको छ ।

यस्तै ठूलो सङ्ख्यामा कर्णाली प्रदेशमा भित्रिएका गाई–गोरु बारेमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरीका अनुसार गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्ने र गठित समितिले प्रहरी चेकपोष्टमा के–कति आधारमा गाई–गोरु भित्रिए भन्नेबारे अध्ययन गर्नेछ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनीबीचमा रहेको कान्जी हाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका गाई–गोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा भिरबाट खसालेर मारिएको अवस्थामा भेटिएका थिए । सोही दिन प्रहरीले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा ढुवानी गर्न प्रयोग गरिएका ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलको भिरबाट खसालेर गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक÷सहचालक गरी सात जनालाई गौवध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार एक हप्ताको म्याद दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण बीसी, चितवनको राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, रौतहटको चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, बाँकेको कोहलपुर नगरपालिका–१४ का हिमबहादुर जीसी, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरावल–१ का शत्रुघन चौधरी र सोही ठाउँका अमृत चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नेपालगञ्ज उपमहानगरअन्तर्गतका नगर प्रहरी निरीक्षक सूर्य बोगटीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बोगटी गाई–गोरु ढुवानी गरिरहेका ट्रकसँगै सुर्खेत आएको बताइएको छ । सोही आधारमा उनीविरुद्ध गौवध मुद्दाको दोषीका रुपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

भिरको जङ्गलमा ठूलो सङ्ख्यामा गाई–गोरु मृत र बेवारिसे अवस्थामा भेटिएका थिए । पशु निरोगिताको प्रमाणपत्र, बुझ्ने निकायसँग उचित समन्वयबिना पशु ढुवानी मापदण्ड उल्लङ्घन गरी गाई–गोरुबीच बाटोमै भिरबाट खसालिएको भन्दै दोषीलाई कानुनी कारवाही गर्न माग गरिएको छ ।

थप एक गाई मृत भेटियो
सुर्खेतको कटकुवा जङ्गलमा घाइते अवस्थामा रहेको एक गाईको मृत्यु भएको छ । शुक्रबार घाइते अवस्थामा भेटिएपछि वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाले उपचार गरिरहेको थियो । नगरपालिकाका वातावरण तथा विपद् उपशाखा प्रमुख यमलाल गिरीले गाईको शव परीक्षणपश्चात् गाडिएको बताउनुभयो ।

योसहित मृत्यु हुने गाई–गोरुको सङ्ख्या ३६ पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाले आज २५ गाई–गोरु नेपालगञ्ज पठाइएको छ । बाँकी गाई–गोरुको खोजतलास भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया