दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

शर्मिला गुरुङ

काठमाडौँ, १८ भदौ : लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गर्नुभएको हो ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहल गर्ने बताउनुभयो । “यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु”, मुख्यमन्त्री राईले भन्नुभयो, “समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।”

विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक–दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो । यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रुपमा लिने मुख्यमन्त्री राईले बताउनुभयो । “अब यो समस्याको अन्त्य हुन्छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “विद्युत् झ्याप्पझ्याप्प आउनेजाने हुनु हँुदैन, यसका लागि विद्युत् प्राधिकरणले ध्यान दिओस् ।”

गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विद्युत् सम्बन्धको विवादमुख्मन्त्री राईले समाधान गर्नुभएको थियो । रासस

प्रतिक्रिया