गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार !

मनिषा थापा

काठमाडौँ : नेपालगञ्ज देखि दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगलमा ४० वटा गाईगोरु मृत अवस्थामा भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको सर्वत्र विरोध भएको छ। उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। दर्जनौं गाईगोरु घाइते छन्। दोषीलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी दबाब बढेपछि नेपालगन्ज उपमहानगरले छानबिन टोली गठन गरेको थियो।

दैलेखको श्रीस्थान क्षेत्रबाट,मगाइएको भन्दै नेपालगन्ज उपमहानगरले ती गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ती गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेको थियो। त्यस्तो बाबजुद पनि उक्त छानबिन टोली दैलेख पुगेर फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक गरेको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको खबर बहीरिएको हो। गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको छ। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि तीन छक्क परेका छन्।

घटनाको एक सातासम्म मौन रहेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा संलग्नता रहेको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन्। जिससले गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएसँगै स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिससका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्न नक्कली पत्र तयार पारेको आरोप लगाएका छन्।


जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ। पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ। जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।

कर्मचारीलाईसमेत जानकारी नहुनुले पनि गाई मगाइएको पत्र रातारात तयार पारेको भन्ने स्थानीयको आरोपलाई पुष्टी गरेको छ। यो घटनासँग सम्बन्धित पत्रको मिति एकैदिन छ। जिसस दैलेख, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले एकैदिन पत्र काटेका छन्।

जिसस दैलेखले भदौ ८ गते नेपालगन्ज उपमहानगरपालिकालाई स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराउन भन्दै पत्र काटेको छ। सोहीदिन नै उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ। भदौ ८ गते जिल्ला प्रशासन बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ। तीन वटै निकायको पत्र एकैदिन काट्नुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको स्थानीयको दाबी छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया