तनहुँमा डेङ्गुका बिरामी ११ पुगे

admin

दमौली, १९ भदौ: तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखिएको थियो ।

डेङ्गुका बिरामीको दमौली र पोखरामा उपचार भइरहेको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकाका व्यक्तिलाई डेङ्गुको सङ्क्रमण देखा परेको कार्यालयले जनाएको छ । जनस्वास्थ्य अधिकृत भट्टराईले टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनुजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य कार्यालयमा परीक्षणका लागि जान अनुरोध गर्नुभएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयमा आज बसेको बैठकले डेङ्गु रोगसम्बन्धी सचेतनाका लागि आइतबार सरोकारवालासहितको अभिमुखीकरण गर्ने निर्णय गरेको छ । जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिनुभयो ।तनहँुमा आर्थिक वर्ष ०७१÷७२ मा तीन, ०७४÷७५ मा एक र ०७५÷७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ ।

आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम शुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गुबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस

प्रतिक्रिया