काठमाडौँ: चितवनको कालिका नगरपालिका वडा ६ न्युरोड टोलमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि न्युरोड टोल विकास संस्थाको आयोजनामा अभियान सञ्चालन भएको हो ।
स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत अभियानमा सुरु गरिएको छ।
डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने जस्ता रोकथामका उपाय सहित ‘घर वरिपरि सफा राखौ, पानीको खाल्डाखुल्डी सफा गरौ’ जस्ता नारा सहित अभियान संचालन भैरहेको न्युरोड टोल विकास संस्थाका उपाध्यक्ष नगेन्द्र देउजाले जानकारी दिएका छन।