आफ्नो शरीर नचले पनि अरुको लागि आशाको किरण बन्दै पाल्पाका कृष्ण

मनिषा थापा

पिएनपिखबर : पाल्पाका कृष्ण खड्का विगत ८ वर्ष देखि ह्विलचेयरको सहारामा जिन्दगी विताइरहेका छन्। उनको घाँटीभन्दा मुनिका अङ्गहरू चल्दैनन्। हात, गोडा वा छाती दुख्छ कि दुख्दैन, त्यो पनि उनलाई पत्तै हुँदैन। उनी जन्मजात नै अपाङ्ग भने हैनन्। उमेरले ३० वर्ष पुगेका   उनी धन कमाउने सपना बोकेर २०६३ सालमा रोजगारको लागि मलेशिया पुगेका थिए। उनी हाउस किपरको रुपमा कार्यरत थियो। काम राम्रै चलिरहेको थियो।

विहान काममा जानु अघि दिनहुँ उनी कसरत गर्थे। २०६७ मंसिर २४ गते सदा झैं उनी कसरत गर्दै थिए। उनले टाउकोले भुइँ टेकेर खुट्टा आकाशतर्फ फर्काइरहेका थिए। अचानक उनको सन्तुलन बिग्रियो र उनी लड्न पुगे। लड्दा उनको मेरुदण्डको नशा चुँडियो। घाँटीबाट मुनिको भाग पक्षघातग्रस्त भयो।

उनलाई उनका साथीले अस्पताल पुराए। त्यसदिन सम्झिदै भन्छन उनी, ‘म अस्पतालमा पुग्दा समेत् मैले डाक्टरलाई आफुलाई के भएको समेत् भनेको थिए। पछि म कोमामा पुगेछु।’ मलेसियामा ११ महिनासम्म अस्पतालमा अचेत अवस्थामा लडिरहे। उनी कार्यरत अफिसका मालिकले उनलाई उपचारमा सक्दो सहयोग गरे र पछि नेपाल ल्याउन समेत् मद्दत गरे। हाल उनको खगेन्द्र नवजीवन केन्द्रमा उपचार भईरहेको छ। पहिला बोल्न समेत् नसक्ने उनी अजा राम्ररी बोल्न सक्छन। उनको स्वास्थ्यमा सुधार आइरहेको छ।

गाउँको लहरा, पहरामा खेल्दै हुर्केका उनी मिठो गीत पनि गाउने गर्छन। उनी सानै देखि आफुलाई गीत गाउँन र खेलकुदमा निकै रुची भएको बताउँछन। उनीमाथि यति ठुलो घटना घट्यो तर पनि उनले जीवनबाट हार खाएका छैनन्। उनमा उर्जा र फुर्ति उनको व्यवहार र विचारबाट प्रष्ट देखिन्छ।

शरीर नचले पनि उनी दिमागको सदुपयोग गरेर उनी आफूमात्र बाँचिरहेका छैनन्, अरुलाई पनि मद्दत गरिरहेका छन्। कृष्ण आफूजस्तै अपाङ्गलाई मद्दत गर्न सधै अग्रसर हुन्छन्। उनले माला, पोते, किरिंगजस्ता धेरै सामग्री बेच्ने गर्छन। साथीभाईबाट धेरै हौसला र माया पाएको कारण जीवन जिउने आधार मिलेको उनी बताउँछन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू