दरखोला लघुजलविद्युत पुनःनिर्माण

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ असोज : चार वर्षअघि पहिरोले क्षति पु¥याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ ।

विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत्गृहमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।

विसं २०७५ चैतदेखि शुरु भएको पुनःनिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । “बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ”, उपाध्यक्ष छन्त्यालले भन्नुभयो, “पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ, मुख्य र वितरण लाइनको तार पुरानै हो ।”

परियोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८६ लाख, गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएका जानकारी दिनुभयो ।

लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । “ठूलो सङ्घर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौँ”, अध्यक्ष पुर्जाले भन्नुभयो, “परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।”

खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७२५ मिटर लामो पाइपलाइनमार्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत्गृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो ।

तत्कालै केन्द्रीय लाइनको विद्युत् पु¥याउन सम्भव नदेखिएकाले लघुजलविद्युत् बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “यो गाउँपालिकाको गौरवको आयोजना हो”, उहाँले भन्नुभयो, “भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युत्का पोल राखेका छौँ ।” उज्यालोका लागि सौर्यबत्ती र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयवासी टेकलाल रसाइलीले बताउनुभयो ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । रासस

प्रतिक्रिया