गाउँपालिका कार्यालयमा तालाबन्दी

राष्ट्रिय समाचार समिति

राजापुर, ५ असोज : विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् । वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका ऐन निर्माणमा एकलौटी रुपमा थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षकको विज्ञापन गरिएको भन्दै तालाबन्दी गरेको बताइएको छ ।

त्यसैगरी शिक्षकको विज्ञापन शिक्षा सेवा आयोगले लिने शिक्षक अनुमतिपत्रको परीक्षासँग जुधेको हुँदा परीक्षा स्थगित गरी र तत्काल शिक्षक तथा विद्यार्थीको अनुपातमा शिक्षक मिलान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाहसमेत नगरी कर्तव्य र मर्यादा विपरीतको काम गरेको आरोप लगाउनुभयो । गाउँसभाले जनाताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेकाले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नसुहाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया