उपचार भन्दै यौनशोषण

admin

काठमाडौं, असोज ३० : धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवम् शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

उच्च अदालत पाटनको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ ।

प्रतिक्रिया