चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल

राष्ट्रिय समाचार समिति

चितवन, ३० असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देशको केन्द्रविन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताउनुभएको हो ।

विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो “विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसुश हुने गरी विकास गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ ।” अहिले सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उहाँले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पु¥याउने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र (ढाट) स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु ।” चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सरकार देशको विकासका लागि पञ्चवर्षीय योजनाका साथ अघि बढेको बताउनुभयो । सरकारको लक्ष्य प्राप्तिका लागि जनता र राजनैतिक दलहरुले सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यसका लागि देशमा सुशासन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सुशासनका लागि दल र जनताको सहयोग आवश्यक छ ।” औद्योगिकरण बिना देशमा समृद्धि सम्भव नभएको भन्दै उहाँले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रथामिकता दिनु आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको व्यापार घाटा घटाउनका लागि स्वदेशी उद्योगलाई प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो । यसका लागि राज्यले व्यवसायमा कर छुटको अवधारणा ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले पनि नेपालले ८० प्रतिशतसम्म व्यापार घाटा बेहोरी रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं ३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले जिल्लाको उत्पादनलाई चिनाउन यसखालका मेला महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललगायतले पनि बोल्नुभएको थियो । राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । आजदेखि शुरु भएको प्रथम राप्ती महोत्सव आगामी कात्तिक ९ गतेसम्म चल्ने छ । महोत्सवमा २५० स्टल रहेका छन् । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा रु पाँच करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कँडेलले बताउनुभयो ।

प्रतिक्रिया