१२ लाख लगानी रहेको जनता मावी रानिबासको पर्खाल तीन महिनामै भत्कियो

admin
  • खगेन्द्र हमाल

सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ रानीबासमा रहेको जनता माध्यमिक विद्यालय भवनको वरिपरि लगाइएको पर्खाल चार महिना पुग्दा नपुग्दै भत्किएको छ ।

जिल्ला समन्वय समितिको १० लाख र चिङ्गाड गाउँपालिकाको साढे २ लाख गरि जम्मा साढे १२ लाख लागतमा निर्माण गरिएको उक्त पर्खाल निर्माण भएको चार महिना नपुग्दै भत्किनुका पछाडि त्यति धेरै कारणहरु भने छैनन् । त्यसको प्रमुख कारण भनेको गुणस्तरहिन सामग्रीको प्रयोग र अदक्ष कामदार नै हुन् ।

एउटा विद्यालय भनेको दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना हो । तर त्यही विद्यालयमा हुने कमजोर गतिविधिका कारण एकातिर जनताले तिरेको करबाट संकलित रकमको दुरुपयोग हुने गर्दछ भने अर्कोतिर भौतिक रुपमा निर्माण गरिएका संरचनाहरु टिकाउ हुँदैनन् ।

जिल्ला समन्वयदेखि गाउँपालिकासम्ममा विद्यालयको धेरबार नभएको भन्दै हात थाप्न पुग्नेहरुले गुणस्तरीय सामग्रीको प्रयोग गर्न लगाउनुको साटो जसरी हुन्छ योजना सम्पन्न गर्ने र त्यसको फरफारकमा ध्यान दिनुले पनि उक्त पर्खाल निर्माणको कार्य दीर्घकालिन हुन नसकेको अभिभावकहरुको भनाई छ ।

तर यता विद्यालयका प्रधानाध्यापक बिनोद यादव भने विद्यालयसँगै जग्गा जोडिएका अभिभावकहरुले पर्खाल नै भत्किने गरि जग्गा खनिदिएका कारण विद्यालयको पर्खाल भत्किएको बताउँछन् । उनको विचारलाई आधार मान्ने हो भने विद्यालयको जग्गा माथि लगाइएको पर्खाल भत्किने गरि खन्ने बेलासम्म विद्यालय प्रशासनले के हेरेर बसेको थियो ? प्रश्न उठ्ने गर्दछ ।

सार्वजनिक सम्पत्तिलाई नै असर पार्ने गरि त्यसरी कोही कसैले पनि अवैधानिक काम गर्न पाइँदैन । यदि उनको तर्क सही छ भने उनले सम्बन्धित निकायदेखि प्रशासनिक निकायसम्ममा खबर गरेर त्यस समस्याको समाधान गर्न किन सकेनन् स्थानीयले प्रश्न उठाइरहेका छन् ।

उता गाउँपालिकाका प्राविधिक गिरिजा रोकाया भने वर्षातको समयमा अत्याधिक वर्षा भएका कारण उक्त पर्खाल भत्किन पुगेको बताउँछन् । उनले भने,‘पहिले भएको पुरानो वाल माथि डेढ फिट वाल थपिएको थियो त्यही ठाउँमा भत्कियो ।’ पुरानो भएको संरचनालाई किन भत्काउ भन्ने पनि लाग्यो अनि भत्केला भन्ने पनि लागेन त्यसैले त्यसै माथि थपियो ।

उनले यसो भनिरहँदा इष्टिमेट अनुसार पर्खाल निर्माण हुन नसकेको स्पष्ट छ । उनले भने, ‘निर्माण गरिएको पुरै पर्खाल भने भत्केको छैन ।’ १ सय ८५ मिटरको पर्खाल लगाउनु पर्ने इष्टिमेट भएकोले इष्टिमेट अनुसार काम भएको रोकायाको दाबी छ । एक वर्षाको पानी धान्न नसक्ने पर्खालको निर्माण गरेर जनताले तिरेको करबाट संकलन भएको पैसा स्वाहा बनाउनु भन्दा यस्ता योजनाहरु नबनाएकै जाती भन्छन् स्थानीयहरु ।

पर्खाल किन भत्कियो भनि प्रश्न गर्दा उक्त विद्यालयका प्रधानाध्यापक यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्री र गाउँपालिकाका प्राविधिक रोकायले दिने कारणहरु भने फरक फरक रहेका छन् ।

जसका कारण योजना निर्माणमा इष्टिमेट अनुसार काम नहुनु, योजनाको अनुगमन नहुनु र हचुवाको भरमा भुक्तानी गरिदिनु नै हुन् ।

यस सम्बन्धमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत खत्री भन्छन्,‘वर्षातको कारणले असारको महिनामा अनुगमन टिम उक्त स्थानमा जान सकेन प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा भुक्तानी गरिएको हो ।’

उनले थपे, ‘विद्यालयलाई भनेर भत्केको ठाउँमा पुननिर्माण गर्न लगाउँछौ ।’ अरु समयमा शीत निद्रामा सुत्ने र असारे वर्षातसँगै जाग्ने प्रवृत्तिको अन्त्य नभएसम्म भौतिक रुपमा हुने विकास निर्माणका कामहरु गुणस्तरयुक्त हुन सक्दैनन् ।

बाह्र लाख भन्दा बढिको पर्खाल त चार महिना नबित्दै भत्किन्छ भने अन्य साना योजनाहरु कस्ता गुणस्तरका निर्माण हुन्छन् होला ? त्यसको सजिलै आंकलन गर्न सकिन्छ ।

यस सम्बन्धमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले भने, ‘योजनाका लागि दिनु पर्ने बजेट गाउँपालिकालाई दिन्छौ र गाउँपालिकाले कसरी भुक्तानी गर्छ भन्ने बारेमा उसैले जानोस् ।’ उनले थपे, योजनाको अहिलेसम्म अनुगमन नै भएको छैन ।

आफ्नै प्राविधिक लिएर अनुगमन गरेर मात्र भुक्तानी दिने योजना छ ।’ जिल्ला समन्वय समितिका संयोजक सिग्देलले यसो भने पनि गाउँपालिकाले भने योजनाको भुक्तानी गरिसकेको छ भने फरफराक समेत भइसकेको प्राविधिक मरोकायाले बताएका छन् ।

गत आर्थिक वर्षको योजना सामान्यतः गत आर्थिक वर्षमै सक्नु पर्नेमा विल भरपाईमा पैसा खर्च भएको देखाउने र कागजमा योजना सम्पन्न भएको देखाउनुले काम गर्ने गराउनेदेखि योजना पाउने र दिनेसम्मको बीचमा कहिँ कतै मिलेमतो भएको भेउ पार्न गा¥हो नपर्ला ।

असारमा सम्पन्न भएको योजनाको मंसिर सुरु भइसक्दा पनि अनुगमन नहुनुले जिल्ला समन्वय समितिको कार्य क्षमता माथि नै प्रश्न चिन्ह खडा गर्दैन र ?

प्रतिक्रिया