- खगेन्द्र हमाल
सुर्खेत, ३ मङ्सिर : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सिङ्गो समाजलाई परिवर्तन गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताउनुभएको छ। आजको टेक्नोलोजी युगमा प्रविधिको प्रयोग विना समाज रुपान्तरण असम्भव रहेको जानकारी गराउनुभयो।
इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालालाई उदघाटन गर्दै मन्त्री भण्डारीले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने बताएका भयो। अहिलेको युग सूचना र प्रविधिको युग हो । यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिने मन्त्री भण्डारीको भनाई थियो।
समग्र प्रविधि क्षेत्रको सर्वस्वीकार्य विधा सूचना प्रविधि पछिल्लो समय देश विकासको मेरुदण्ड नै बन्दै गएको छ।सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयामिक प्रभाव र विस्तारले विश्व साँघुरो ग्राममा परिणत हुँदै गएको यथार्थ अब नौलो कुरा रहेन।दैनिक जीवनमै सूचना प्रविधि हावी भएकाले मानिसको दैनिकीमा ठूलो सहजता ल्याइदिएको छ।
कम्प्युटरको विकासबाट सुरूवात सूचना प्रविधिको क्षेत्रमा भएको गुणात्मक फड्को कम्प्युटरकै सेरोफेरोमा अझ अङ्कुरित, पुष्पित, पल्लवित हुँदै गएको छ।कम्प्युटर नामको प्रविधिको भाँडो आज आएर यति लचिलो भइसकेको छ कि दूरसञ्चार, सञ्चार माध्यम, बैङ्किङ्ग, व्यावहारिक जुनसुकै प्रयोजनका लागि यसको प्रयोग वाञ्छनीय हुन पुगेको छ।देशमा सूचना प्रविधिको विकास गर्न सर्वप्रथम त शैक्षिक क्षेत्रमा जोड दिनुपर्छ ।
सूचना प्रविधिको ज्ञान हासिल गराउन उद्योगमा प्रयोग हुने व्यावसायिक ज्ञानभन्दा पनि पहिला त सैद्वान्तिक किताबी ज्ञान अनि उक्त आर्जन गरेको ज्ञानलाई प्रयोगात्मक ज्ञानमा प्रतिस्थापन गर्न सके त्यसले उत्पादक परिणाम दिन सक्छ । सूचना प्रविधिको अर्को प्रमुख बाधक सहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको खाडल ।
सम्पूर्ण उपलब्धताको केन्द्रीकरण र सहरमुखी अवधारणाका कारण ग्रामीण क्षेत्रका युवाहरूलाई प्रविधिको ज्ञान आर्जन गराउन दूरशिक्षाको अवधारणालाई विकास गरी अत्याधुनिक प्रविधिको पहुँच ग्रामीण भेगसम्म पनि विस्तार गर्न सकिन्छ । यसरी सहर र गाउँबीचको खाडल पुर्न सके सूचना प्रविधिको विकासले दुर्तगति लिन सक्छ मन्त्री भण्डारीले जानकारी गराउनुभयो।
समाजलाई कुन मोडालिटिमा रुपान्तरण गर्ने भन्ने कुरा प्रबिधि विकासमा निर्भर रहन्छ।अब जनप्रतिनिधिहरुले पनि सूचना तथा प्रविधिको प्रयोग गर्ने बेला भएको छ।आजको टेक्नोलोजी युगमा प्रबिधिको विकासले नै विश्वमा ठुलठुला परिवर्तनहरु भएको जानकारी दिनुभयो।
युएनडिपीको संसद सहयोग परियोजनाले आयोजना गरेको यो दुइ दिने कार्यशालामा कर्णाली प्रदेश सभाका १६ जना सांसदहरुको सहभागिता रहेको छ।सञ्चार विज्ञ लक्ष्मण दत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले प्रशिक्षण दिइरहेका छन।