प्रहरीद्वारा ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कृष्ण रोकाया

बेझाड ५ मङ्सिर : भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो ।

विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर विभिन्न सङ्घसंस्थाबाट शैक्षिक सामग्री सङ्कलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । संस्थाले यसभन्दा अघि पनि छ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

पाल्पामा करदाताको सङ्ख्या बढ्यो

पाल्पा जिल्लामा पछिल्लो समय करदाताको सङ्ख्या बढेको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा मात्रै ३८ प्रतिशतले वृद्धि भएको पाइएको छ । पहिलो चौमासिकको अवधिमा जिल्लामा २९ हजार ९२९ करदाता रहेको करदाता सेवा कार्यालयले जनाएको छ । आव २०७५÷७६ को असार मसान्तसम्ममा २१ हजार ६७१ करदाता रहेका थिए ।

करको दायरा बढ्नु, कर शिक्षा प्रभावकारी हुनु, आर्थिक कारोवार गर्ने सबैलाई अनिवार्यरूपमा प्यान नम्वर लिनुपर्नेजस्ता कारणले करदाताको सङ्ख्या बढ्न गएको करदाता सेवा कार्यालयका प्रमुख सागर पोखरेलले बताउनुभयो ।

करदाताको सङ्ख्या वृद्धि भएसँगै चालू आवको चार महिनाको अवधिमा २१ करोड ५५ लाख रकम सङ्कलन भएको छ । अघिल्लो आवको अवधिमा रु ४५ करोड ३१ लाख तीन हजार ४४३ राजश्व सङ्कलन भएको थियो । यस वर्ष सरकारले नीति तथा कार्यक्रममा बजेटसँगै करको दायरामा वृद्धि गरेकाले राजश्वसँगै करदाताको सङ्ख्या बढेको हो । पाल्पाको सदरमुकाम तानसेनमा रहेको करदाता सेवा कार्यालयले गुल्मी जिल्लामा पनि सेवा दिँदै आइरहेको छ । रासस

प्रतिक्रिया