योग्यलाई हटाएर अयोग्यलाई मन्त्री बनाएको नेता शाहको आरोप

मनिषा थापा

काठमाडौँ : मन्त्रीमण्डल पुनर्गठनलगत्तै नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु शाहले गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा पुनर्गठन गरिएको आरोप लगाएका छन् । कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको उनले फेसबुकमार्फत स्ट्याटस लेखि आरोप लगाएका हुन्।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रबाटै आलोचना भइरहेको छ।कार्यसम्पादनलाई मापदण्ड बनाएर मन्त्री हटाउने आधार तय गरेको भनिए पनि प्रधानमन्त्री ओलीले त्यसो नगरेको अध्यक्ष प्रभु शाहसँगै अरु नेकपाकै नेताहरुले लगाउन थालेका छन् ।

शाहले फेसबुकमा लेखेको छन्, ‘’कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो।मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’’

साहको उक्त अभिव्यक्तिलाई केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । रिजालले प्रभु साहको फेसबुक स्ट्याटस देख्दा लाज लागेको बताएका छन् ।

रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ ।’ उनले साहलाई प्रश्न गर्दै भनेका छन्, ‘कसैले उहाँसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ?’

सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप नगर्ने रिजालले बताए। रिजालले काशी तिवारी हत्याकाण्डको कुरा गर्दै भनेका छन्, ‘ ‘अँ, साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ?’

हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

प्रतिक्रिया