झुटो कुरा गर्नेलाई जनताले फाल्छन्: सांसद सुवाल

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, ५ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा झुटो कुरा गर्ने पार्टीलाई जनताले पञ्चायतलाई फालेझैँ फाल्ने बताउनुभएको छ । नेमकिपाले भक्तपुरको चाँगुनारायणस्थित झौखेलमा आज आयोजना गरेको चुनावीसभामा उहाँले चुनाव भ्रष्टाचार विरोधी र भ्रष्टाचारीबीचको राजनीतिक लडाइँ भएको बताउनुभयो ।

नगरकोट सडक दुई वर्षमा बनाउनुपर्नेमा छ वर्ष बित्दा पनि नबनाउने शैलुन कन्स्ट्रक्सनलाई मेलम्चीको पानीको ठेक्का दिनु गलत भएको उहाँको भनाइ थियो । सचिव सुवालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय अतिक्रमणविरुद्ध सबै पार्टी एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईँ र सिर्जना सैँजूले आफ्नो पार्टीका उम्मेदवार निरज लवजूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

घरघरमा मतदाता शिक्षा
जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई मतदाता शिक्षा दिन वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको छ । मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा मत कसरी सुरक्षित तरिकाले हाल्ने भन्ने कुरा सिकाउन घरघरमा मतदाता शिक्षा दिने गरी एक वडामा दुई जनाको दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी घमचन्द्र तिम्सिनाले बताउनुभयो ।

चाँगुनारायण नगरपालिका भित्रका नौ वडामा र भक्तपुर नगरपालिकाको १० नम्बर वडाका मतदातालाई मत बदर नहुने गरी कसरी स्वस्तिक छाप लगाउने भन्नेबारे शिक्षा दिन नमूना मतपत्र र स्वस्तिक छापसहित मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पठाइएको उहाँले बताउनुभयो । उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता गराउन, मतदातालाई मतदान प्रक्रियाको बारेमा जानकारी गराउन, बदर मतको प्रतिशत घटाउन, मतदाता परिचयपत्र वितरण गर्न था उपनिर्वाचनको पोस्टर टाँस्न उनीहरुलाई परिचालन गरिएको हो ।

प्रतिक्रिया