‘सी चिनफिङ विचारधारा’मा बहस

कृष्ण रोकाया

काठमाडौँ ६ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा आज यहाँ आयोजित नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयक अन्तक्र्रियामा उहाँले समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल–चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुवात भएको र भ्रमणले दुई देशबीचको व्यापार, पारवहन तथा उत्तरी सीमा नाका खोल्ने लगायत महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री तथा समाजका संरक्षक आनन्दप्रसाद पोखरेलले कार्यक्रम एकअर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । उहाँले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भएपनि दुवै देशको गन्तव्य दुई राष्ट्रको समृद्धि नै भएको बताउनुभयो ।

कार्र्यक्रममा चिनियाँ प्रा डा ओयु लिमिङले आर्थिक समृद्धिका लागि निरन्तरता चाहिन्छ भन्ने कुरा चिनफिङ विचारधाराबाट सिक्न सकिने बताउनुभयो । समाजले नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको छ । रासस

प्रतिक्रिया