सरकार जनतालाई झुक्याइरहेको छ : वरिष्ठ नेता पौडेल

राष्ट्रिय समाचार समिति

पोखरा, ७ मङ्सिर:नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनुभएको छ ।कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा आज आयोजित चुनावी सभामा उहाँले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको विचार व्यक्त गर्नुभयो । उहाँले सरकार जनतालाई जथाभावी कर थोपरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भन्नुभयो ।

सरकारका अलोकतान्त्रिक गतिविधिका साथै संविधान विरोधी कदमलाई सच्याउनका लागि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताउँदै उहाँले काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकारको गति र मतिलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि काँग्रेसको रुख चिन्हमा मतदान गर्न जनता समक्ष आग्रह गर्नुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचन महत्वपूर्ण अवसर भएको बताउँदै काँग्रेसका उम्मेदवारलाई मतदान गरी अवसरको उपयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया