दिन मिल्ने जति सूचना दिनुहोस् : आयुक्त तिम्सिना

राष्ट्रिय समाचार समिति

पाल्पा, ८ मङ्सिर: राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले सूचना अधिकारीहरुले दिनमिल्ने सूचनाहरु दिनुपर्ने बताउनुभएको छ । सूचना अधिकारीहरुले दिनमिल्ने सूचनासमेत नदिइने गुनासा बढेको आयुक्त तिम्सिनाले बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगद्वारा पाल्पाको तानसेनमा आयोजित सूचनासम्बन्धी अन्तरक्रियामा स्थानीय तहका महिला उपप्रमुख तथा उपाध्यक्षलाई सूचना नदिएको गुनासो बढेको उहाँले बताउनुभयो । उहाँले सूचनाको आदनप्रदान गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पाल्पामा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले नागरिकले सूचना पाउने अधिकार कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सूचना आदानप्रदान गरी सुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लास्थित सरकारी कार्यालयले तीनतीन महिनामा सूचना अधिकारीसँग बैठक बसी कार्यक्रम सार्वजनिक गर्दै आएको र आगामी दिन पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सूचना प्राप्तिका अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया