सात करोडमा आश्रयस्थल

कृष्ण रोकाया

काठमाडौँ ९ मङ्सिर : काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा रु सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ ।

 

 

लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको उक्त स्थलमा तीनवटा भवन निर्माण गरिएको छ ।

एपेरियन नामक गैरसरकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षमा निर्माण गरिएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको त्यस स्थलमा व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण, परामर्श, आवास गरी ३० कक्ष छन् । जम्म २० महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमताको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसाविरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ ।

पीडित पक्षलाई सम्बन्धित घरपरिवारमा मेलमिलाप, व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखिएको छ । हिंसामा परेका महिलालाई सामाजिक रुपान्तरण गर्न हाउस किपिङ, खाना पकाउने, ब्युटिसियन, सुरक्षा गार्ड, बालबालिका हेरचाह र मन्टेश्वरी तालीम सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले भवनको उद्घाटन गर्दै महिला वर्गमाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको सिकार हुने गरेकाले सामाजिक रुपान्तरणको महत्व रहेको बताउनुभयो । एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रयस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो । उहाँले अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढङ, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया