नयाँ बसपार्कमा मदिरा निषेध

admin

काठमाडौं मंसिर १० : राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ। मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ।

प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताए। उनले भने, ‘‘बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ।

यो काममा सबैको साथ छ।’’ सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ। तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने गरेका छन् ।

बसपार्क व्यवस्थापनको ठेक्का लिएका लोत्से बहुउद्देश्यीय प्रालिका प्रमुख इन्जिनियर दीपक कुँवरले बसपार्क व्यापार व्यवसायको हबभन्दा सर्वसाधारण यात्रुको सुविधाका लागि हुुनुपर्ने भावनामा काम भइरहेको बताए।

बसपार्कलाई हरियाली वातावरण मैत्री उद्यानहरू, सार्वजनिक शौचालयको सुविधायुक्त र प्रदेश अनुसार टिकट काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । लोत्सेका प्रमुख इन्जिनियर कुँवरका अनुसार, केही महिनामा नै यी सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न हुनेछन्।

प्रतिक्रिया