सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ : मन्त्री अर्याल

राष्ट्रिय समाचार समिति

स्याङ्जा, १० मङ्सिर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । जिल्ला मालपोत कार्यालमा आज सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ कार्यक्रममा भारत सरकारले जारी गरेको नक्साप्रति भइरहेका टीका टिप्पणीप्रति सङ्केत गर्दै मन्त्री अर्यालले भन्नुभयो, “नेपालको सीमा छिमेकीले मिच्दा सरकारलाई सहयोग गरेर राष्ट्रियताको पक्षमा उभिनुको सट्टा केही दल सरकारको सहमतिमा नै भारतले नक्सा निकालेको भनेर जनतालाई भ्रममा पारेर भोटका लागि तुच्छ कार्य गरिरहेका छन् ।”

देशको माया हुनेले देश र सरकारलाई बल पुग्ने काम गर्छन् की राष्ट्रियता सङ्कटमा परेको बेलामा जथाभावी बोल्छन् भन्दै उहाँले प्रश्न गर्नुभयो ।

जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने भन्दै मन्त्री अर्यालले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सबै क्षेत्रमा सरकारका कामले गति लिएको अवस्थामा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नाराले सार्थकता पाउने उहाँले बताउनुभयो । मन्त्री अर्यालले वर्तमान सरकार जनताका अपेक्षा पूरा गर्न सक्रिय रहेको बताउनुभयो ।

भारत र चीनसगँ जोडिएका सबै ठाउँमा समस्या एउटै रहेको बताउँदै उहाँले सरकार कूटनीतिक समाधानको प्रयासमा रहेको बताउनुभयो । यसैबीच आजै मन्त्री अर्यालले वालिङस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै सरकार सहकारीलाई मर्ज गरेर व्यवस्थित रुपमा अगाडि बढाउने योजनाका साथ लागिपरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया