चितवन, ११ मङ्सिर: जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत आज निर्वाचन केन्द्रमा खटिनुभएको छ । कूल ७५ जना कर्मचारी छनोट भई केन्द्रमा खटिँदै छन् । ती सबैले प्रशिक्षण लिइसकेका छन् । मतदान अधिकृतले निर्वाचन केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गर्ने छन् ।
मतदान केन्द्रमा आज निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिने छ । ढकालले बिहीबार र शुक्रबार केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने छ भने सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त हुनुभएको छ । उहाँले भरतपुर महानगरपालिका–१६ को निर्वाचनसमेत हेर्नुहुनेछ । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेल नियुक्त हुनुभएको छ ।
निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।
जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा ८ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं– ५ मा दुई हजार १११ मतदाता रहेका छन् । तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् । रासस