भटमास दिँदै ढिके नुन लिँदै

कृष्ण रोकाया

डोटी १२ मङ्सिर : जिल्लाका किसानले धान भित्र्याइसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ ।

किसानले आफूले उत्पादन गरेका भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा धाउने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्नेभन्दा पनि ढिके नुनसँग साट्ने गरेका छन् ।

जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउन थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “भटमास उत्पादन गर्ने किसान दैनिकजसो केजीका केजी भटमास लिएर ढिके नुनसँग साट्न आउँछन्, नगदभन्दा पनि उनीहरु नुन लिन बढी खुशी हुन्छन् ।” भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि यहाँका बजारमा अहिले भटमास सङ्कलकहरुले ठाउँ–ठाउँमा ढिके नुन राखेका छन् ।

किसानले वर्षायाममा प्राय सबैभन्दा बढी भटमास तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी भटमास उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ कार्यालयको तथ्याङ्कले जनाएको छ ।

यहाँका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुन थालेको जोरायल गाउँपालिका–५ का स्थानीयवासी पूर्णबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेभन्दा पनि गाईवस्तुलाई खुवाउन ढिके नुन बढी प्रयोग हुने भएकाले यहाँका ग्रामीण क्षेत्रका स्थानीयवासी आयोडिनयुक्त नुनभन्दा बढी ढिके नुन प्रयोग गर्छन् ।”

पछिल्लो समय यहाँका प्रायः सबै ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लिएर गाउँमै भटमासलगायत दलहन खरीद गर्न पुग्ने गरेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीयवासी तथा शिक्षक गुणकर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भटमासको बजारमूल्य गाउँमै पाइने र नुन, चामल पनि घरसम्मै पुग्ने भएकाले किसान भटमाससँग नुन र चामल साट्ने गर्दै आएका छन् ।”

अहिले प्रायः यहाँका गाउँघरका स्थानीयवासी भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरीद गर्न नजिकैका पसलमा आउने गरेका भेटिन्छन् । गाउँमै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको कृषक बताउँछन् । एक किलोग्राम भटमाससँग दुई केजी ढिके नुन साट्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका व्यापारी विक्रम साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “भटमास बिक्री गर्नेहरु प्रायः नगद पैसाभन्दा पनि ढिके नुन र चामल लिन रुचाउँछन्, उनीहरुकै मागअनुसार हामीले साट्ने गरेका छौँ ।” प्रायः घरमै गएर खरीद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य नपाइने गरेको यहाँका भटमास व्यापारीको गुनासो छ ।

भटमासको मूल्य गाउँमा रु ७० देखि ८० मा बिक्री हुने गरे पनि बजारमा भटमास व्यापारीले भने एक किलो भटमासमा दुई किलो चामल साटेर लैजाने गरेका छन् । भटमासलाई जङ्गली बँदेललगायत अन्य वन्यजन्तुले खासै नरुचाउने भएकाले प्रायः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसान भटमास खेतीतर्फ आकर्षित हुने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीय कृष्णबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “भटमासलाई प्रायः कुनै पनि जङ्गली जनावरले हानी–नोक्सानी नगर्ने भएका कारण यहाँका किसानको आकर्षण भटमास खेतीमा भएको हो ।”

जिल्लाका पानी नलाग्ने खेत तथा ठाउँहरुमा भटमास खेती अन्य खेतीभन्दा राम्रो फल्ने गरेको किसान बताउँछन् । धानभन्दा पनि महङ्गो मूल्यमा बिक्री हुने हुँदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आकर्षित भएका हुन् । यहाँका किसनले मुख्य बालीको रूपमा भटमासको खेती गर्न थालेको केआइसिंह गाउँपालिकाका अर्का स्थानीय किसान जहरसिंह खवासले बताउनुभयो ।

हाल जिल्लाका विभिन्न ग्रामीण भेगमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बालीभन्दा बढी दलहन खेती गर्न थालेका छन् । जिल्लाका शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, केआइसिंह गाउँपालिका, जोरायल गाउँपालिका, बोगटानफुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिकालगाउतका गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू