काठमाडौं : केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ ।
आज राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार पहाडी क्षेत्रमा आंसिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जिरीको न्युनतम तापक्रम दुई दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।