काठमाडाैं, १४ मंसिर: ३७ जिल्लाका रिक्त ५२ पदका लागि शनिबार (आज) उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र गरी ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले रिक्त ५२ पदका लागि ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताए ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दलले सहभागिता जनाउँदै छन् ।प्रतिस्पर्धामा उत्रिएका कुल ३ सय ३७ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये २ सय ५३ पुरुष उम्मेदवार उपनिर्वाचनका लागि चुनावी मैदानमा छन् भने ८४ जना महिला
उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।उपनिर्वाचनका लागि ३७ जिल्लामा गरी २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको बताए ।
उनले उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको, गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तर्जुमा भई प्रभावकारी रूपमा कार्यान्वयन भइसकेको समेत जानकारी दिए । राजधानी दैनिकले खबर छापेकाे छ ।