जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल

कृष्ण रोकाया

काठमाडौँ १६ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उहाँले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।” उहाँले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सयवटा गन्तव्य स्थान मध्ये एउटा गन्तव्य स्थानका रुपमा रहेको हुनाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्त्व्यका रुपमा विकास गर्न आवश्यक रहेको जनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यसवर्ष पनि रु एक–एक करोड छुट्याइएको बताउनुभयो । नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउन सकिने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्ष २०७६÷७५को लागि कूल रु १५ करोड ८४ लाख ५३ हजार बजेट स्वीकृत भएको यस नगरपालिकले पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, पार्क निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधारलागायत क्षेत्रमा प्राथमिकताकासाथ बजेट विनियोजन गरेको बताउनुभयो ।

काठमाडाँै जिल्लाको पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बुढानिलकण्ठ नगरपालिका सफल भएको छ । विसं २०७३ मङ्सिर १६ गते शिलान्यास गरिएको नवनिर्मित २२३२.९२ वर्गमिटरमा फैलिएको छ । नगरको वडा न–८ हात्तीगाँैडामा अवस्थित भवनको कूललागत १० करोड नौ लाख ४३ हजार छ । रासस

प्रतिक्रिया