कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव

मनिषा थापा

जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताउनुभयो । पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताउनुभयो । चापागाइँले भन्नुभयो, “यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।” चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको अभावले पालैपालो सुत्नु पर्ने अवस्था आएको बताउनुभयो ।

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकोले विभिन्न प्रकारका समस्या आउने गरेको र आफुले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो । उहाँले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुँदा सवारी साधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीहरुले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिसहरु आउने गरे पनि आफुहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् । कारागारमा ५० जनाको क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया