पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

admin

कास्की, ३ पुस: सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो । रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो ।

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।”

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताउनुभयो । दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ ।

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताउनुभयो । ट्रष्टको स्वामित्वमा रहेका दरबार खुला गर्नका लागि अध्यक्ष, सदस्य सचिव तथा सदस्य सबैले चासो दिएको बताउँदै नेपाल भ्रमण वर्षमा २० लाख बाह्य पर्यटक ल्याउने लक्ष्य पूरा गर्न यसले सघाउने बताउनुभयो ।

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको रु दुई करोड बजेटमध्येबाट रु २५ लाख विनियोजन गरेको जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्न मन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको बताउनुभयो । नेपालको राजसंस्थासँग जोडिएको इतिहास र संस्कृतिलाई हेर्न पर्यटक लालायित रहेकाले दरबार पोखराको अर्को पर्यटकीय गन्तव्य बन्ने भनाइ उहाँको छ ।

उहाँले भन्नुभयो, “रत्न मन्दिर र हिमागृह हामीसँग भएका धरोहर हुन् । यिनलाई टुरिजम प्रडक्टका रुपमा विकास गरिनुपर्दछ र अबको बदलिँदो परिवेशसँगै भएका सम्भावनालाई नगदमा परिर्वतन गर्नुपर्दछ । यिनलाई निःशुल्क होइन, सशुल्क खोल्नुपर्दछ ।”यी दुई दरबारमा सर्वसाधारणको प्रवेश भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई आधा दिन लम्बाउन सकिने पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत यसबाट सघाउ पुग्नेमा व्यवसायीहरु विश्वस्त छन् ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गर्नुभएको थियो । विसं २०१३ मा यो दरबारको निर्माण शुरु गरिएको थियो । त्यसबेला पोखरामा होटल नहुँदा दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गथ्र्यो भने तत्कालीन राजाले यहीँ विदेशी पाहुनासँग भेट गर्ने तथा विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम पनि यहीँ हुने गर्दथ्यो ।

तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर पनि ट्रष्टको स्वामित्व छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२–६३ को दोस्रो जनआन्दोलन चरम उत्कोर्षमा पुगेको समयमा पनि करीब तीन महीना यही बस्नुभएको थियो । विसं २०६१ माघ १९ को शाही कदमपछि तत्कालीन राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्न मन्दिर भने तत्कालीन राजा वीरेन्द्रकै नाममा रहेकाले ट्रष्टको स्वामित्वमा आउन सहज भएको हो । रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ ।

प्रतिक्रिया