भगवानको भरोसा चल्दै दुर्गमका स्वास्थ्य सँस्था

मनिषा थापा

सौर्य ऊर्जा तथा विद्युत्को अभावमा यहाँका दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा सल्लीको दियालो बालेर सुत्केरी सेवा दिन बाध्यता रहेको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणसँग जोडिन नसकेको जाजरकोटका दुर्गम गाउँ र डोल्पाका अधिकांश गाउँमा सल्लाको दियालोको भरमा दैनिक स्वास्थ्य संस्थामा आउने गर्भवतीको सुत्केरी गराउनु पर्दा अनेक समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रमा बत्तीको अभावमा मोबाइलको लाइटको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । त्रिपुराकोट स्वास्थ्य चौकीका इञ्चार्ज अहेब तुलबहादुर श्रेष्ठले भन्नुभयो, “गएको साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइल टर्च र दियालो बालेर सुत्केरी गराइएको छ । सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामका लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तीको व्यवस्था छैन ।”

उहाँले थप्ुनभयो, “चिसोमा आमा र बच्चा दुवैको ज्यान जोगाएर सफल सुत्केरी गराउन विभिन्न तरिका अपनाउनुपर्ने भएकाले हिटरलगायतका उपकरण प्रयोग गर्न र उज्यालोका लागि भरपर्दो बत्ती नभएकाले मोबाइल टर्चलगायत दियालोको उज्यालोका भरमा पनि सुत्केरी गराउनुपर्ने बाध्यताले समस्या छ ।” दुई वर्षको सुनिश्चित भनिएपनि ‘स्वच्छता’ नामक संस्थाले जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकीअन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको हो ।

डोल्पामा रहेका स्वास्थ्य चौकीमा दक्ष अनमी नहुँदा र सुत्केरीसम्बन्धी तालीम नलिएका करारका कर्मचारीले सुत्केरी गराउँदा पनि समस्या सिर्जना हुने गरेको छ । सुत्केरी गराउनका लागि छुट्टै प्रसूतिसम्बन्धी तालीम लिएको अनमी आवश्यक पर्छ । प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबीआई तालीम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भनिए पनि स्वास्थ्य चौकीमा गत साउनदेखि तालीम नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन् ।

नगरपालिकाले करारमा भए पनि तालीम प्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ्य चौकीका प्रमुख अहेब तुलबहादुर श्रेष्ठले बताउनुभयो । दुई जना स्थायी अनमी दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल एक जना करार त्यसमा पनि तालीम नलिएकी अनमी र एक जना मासिका मात्र कार्यरत छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच वटा स्वास्थ्य चौकीमध्ये चार वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा रहे पनि बत्ती नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ । फुल्चिङ स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री पठाइए पनि काम शुरु भएको छैन । मुड्केचुला गाउँपालिका–३ काशीलखोलामा गएको पहिरोबाट विद्युत् उत्पादन गृह बगाएपछि फेम्ली अस्पतालको सेवा ठप्प हुँदै आएको छ । उपल्लो डोल्पामा वर्षमा एकपटक मात्र औषधि पुग्ने गर्दछ ।

यहाँका अधिकांश महिला सुत्केरी सेवादेखि नियमित स्वास्थ्य सेवा प्रवाह यहाँ गुम्बामा रहेका आम्चीले गर्दै आएका छन् । भगवान्को भरोसमा उपल्लो डोल्पाका गर्भवती सुत्केरी हुँदै आएको बताएका छन् । तल्लो डोल्पाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा असुरक्षितरुपमा घरमै सुत्केरी हुन बाध्य भएको जगदुल्ला गाउँपालिका–४ का रामे रोकायले बताउनुभयो ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाका स्थानीय महिला नियमित स्वास्थ्य परीक्षण नगरी घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्था टाढा हुँदा उनीहरु घरमै असुरक्षितरुपमा सुत्केरी हुन बाध्य भएका हुन् ।

जाजरकोट र डोल्पाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा लिइएको १८ जना सुत्केरीले नियमित स्वास्थ्य संस्था गएर जाँच नगरेको बताएका थिए । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्राप्त मात्रामा उपकरण नहुँदा हातले छामेर उपचार गर्दा सबै कुरा थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । रासस 

प्रतिक्रिया