सरकारी जग्गामा ढलीमली

admin

काठमाडाैं, पुस ५ : पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो।

प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो। त्यहाँ अहिले नेकपा केन्द्रीय कार्यालय छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने, गराउने गर्नु हुँदैन भन्ने व्यवस्था छ। तर सत्तासीन नेकपाले सो ऐनविपरीत सरकारी जग्गामा प्रतिष्ठानले बनाएको भवन भाडामा प्रयोग गरिरहेको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६३ फागुन ११ गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानलाई धुम्बाराहीमा कार्यालय बनाउन चार रोपनी पाँच आना जग्गा भोगाधिकारमा दिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। तर प्रतिष्ठानले जग्गा भोगाधिकारको उद्देश्यविपरीत गैरकानुनी रुपमा नेकपालाई पार्टी कार्यालय चलाउन त्यहाँ बनेको भवन उपलब्ध गराएको छ। प्रतिष्ठानलाई कार्यालय चलाउन सरकारले सो जग्गाको भोगाधिकार दिएको हो। भोगाधिकारमा लिएको जग्गा र त्यहाँ बनेको संरचना भाडामा लगाउन पाइँदैन।

प्रतिष्ठानका कर्मचारी भद्र पराजुलीले नेकपालाई मासिक दुई लाख रुपैयाँ भाडामा भवन उपलब्ध गराइएको बताए। कार्यसमितिको निर्णयबमोजिम प्रतिष्ठानको भवन नेकपालाई ६ वर्षका लागि दिइएको उनको भनाइ छ। ‘पहिले तीन वर्षका लागि दिने भन्ने निर्णय भएको थियो’, पराजुलीले भने’, ‘फेरि पछि तीन वर्षका लागि म्याद थप्ने निर्णय भएको छ, आवश्यकता अनुसार म्याद थप्दै जाने भन्ने छ।’

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट नागरिकलाई प्राप्त कागजातमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ को कित्ता नम्बर ७४, ९६, ९८, १५९ र २०६ को चार रोपनी पाँच आना जग्गा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानलाई भोगाधिकारमा उपलब्ध गराएको उल्लेख छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया