घरेलु हिंसा बढ्दै

राष्ट्रिय समाचार समिति

गलकोट, ६ पुस : बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ ।

सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो । गत वर्ष सन् २०१८ मा जम्मा ५७ घरेलु हिंसाका घटना घटेकामा यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको हो ।

पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुनुले घरेलु तथा मानवअधिकार उल्लङ्घनका घटना बाहिर आउन थालेको उहाँले जानकारी दिनुभयो । यस अवधिमा घरेलु हिंसाका ४६, यौन दुव्र्यवहार आठ, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी पाँच, नागरिक तथा राजनीतिक अधिकार ११, धम्की तथा कुटपिट राज्य पक्षबाट एक, बालअधिकार÷शैक्षिक संस्थामा कुटपिट तीन, जातिय विभेद एक, बहुविवाह सात, महिला अधिकार÷गोली प्रहार–घरेलु हतियार चार, मानव बेचबिखन तथा ओसारपसार एक, आत्महत्या दुरुत्साहन÷शङ्कास्पद मृत्यु चार र सम्पत्ति क्षति पाँच गरी १०५ घटना घटेको प्रतिवेदनले जनाएको छ ।

इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक सन् २०२० का लागि सङ्कलन गरेको घटनाको पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटना वृद्धि हुँदै गएकामा सरोकारवालाले चिन्तासमेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ, सुरक्षकर्मी र सञ्चारकर्मीले मानवअधिकारसम्बन्धी विषय गम्भीर भएको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया