भारत जान लागेको २० बालबालिकाको उद्धार

मनिषा थापा

अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ ।

सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उहाँका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ ।

हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।

जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले धेरै बालबालिका भारत जान लागेको भेटिएपति शङ्का लागी रोकिएको उहाँले बताउनुभयो ।“सँगै जान लागेका एक जना बालकले बिमारी छु भन्दै ढाँट्यो र सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो ।”

सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।

आर्थिक वर्ष २०७५-७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४-७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया