राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्मा फेरबदल

राष्ट्रिय समाचार समिति

कायरो, ६ पुस : मन्त्रीहरू फेरबदल गर्ने इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको प्रस्तावलाई सांसदहरूले अनुमोदन गरेका छन् । राज्यद्वारा सञ्चालित समाचार संस्था ‘मेना’ले जनाएअनुसार केही मन्त्रीहरू परिवर्तन गर्ने उहाँको प्रस्तावलाई संसद्ले आइतबार अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्मा फेरबदल गर्दा खालेद अनानी पर्यटन मन्त्री, ओमर मर्वान न्याय मन्त्री, हला एल सइद योजना तथा अर्थतन्त्र विकास मन्त्री र रानीया एल मशात अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्री बन्नु भएको छ ।

त्यसैगरी ओसामा हेइकल सूचना मन्त्री, मोहमद मानर इनाबा नागरिक उड्डयन मन्त्री, नेभिन काब्बाज सामाजिक समन्वय मन्त्री, नेभिन गामय व्यापार तथा उद्योग मन्त्री, एल सायद क्युसेर कृषि तथा भूमि सुधार मन्त्री र अल्ल एल डिन अबुल हस्सन संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । इजिप्टमा प्रधानमन्त्रीसँग परामर्श गरेर राष्ट्रपतिले मन्त्रीहरू फेरबदल गर्नसक्ने र त्यसलाई संसद्बाट बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया