‘एमसीसी’बारे पूर्व अर्थमन्त्री डा. महतले खुलाए वास्तविकता

मनिषा थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले ‘एमसीसी’ अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले भने, ‘यो मिलिटरी एलायन्स होईन् । यसको मिलिटरीसँग कुनै सम्बन्ध छैन् । यसको प्युअर पर्पोज भनेको नै गरिबी निवारण हो ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले एमसीसीबारे भ्रममा नपर्नपनि सबैलाई आग्रह गरे । उनले भने,‘आजपनि मैले अखबारमा देखेको थिएँ, प्रचण्डजीले पनि केही भन्नुभएको रहेछ, एमसीसीबारे भ्रममा नपर्न म सबैमा आग्रह गर्दछु । यो सहयोग प्राप्त गर्न हामीले धेरै मेहनत गरेका छौं । यो कुनैपनि मुलुकको खिलाफमा छैन् । मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसीअन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुग्छ ।’

कार्यक्रममा बोल्दै उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे । उनले भने,‘जसले यसको विरोध गरिरहेका छन्, त्यो भनेको अज्ञानताको कारण हो । एमसीसी भनेको त स्वतन्त्र बडी हो । यसमा कहाँ छ सैन्य गठबन्धन ? यो अमेरिकाको सैन्य गठबन्धन हो भन्नु काल्पनिक कुरा हो ।’

महतले सन् २००४ मा अमेरिकाको संसदले कानून बनाएर एमसीसी पास गरेको स्पष्ट पारे । उनले भने,‘यो अमेरिकाको विदेश मन्त्रालयको पनि अंग होईन, सन् २००२ मा मेक्सिकोमा भएको सम्मेलनमा नेपालको तर्फबाट मेरै नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो । त्यतिवेला अमेरिकी राष्ट्रपति जर्ज बुश हुनुहुन्थ्यो, उहाँले गरिब मुलुकहरुको उत्थानको लागि, गरिबी निवारणको लागि यो कार्यक्रमको घोषणा गर्नुभएको थियो । वर्षमा ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा हो ।’

२००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई यो सहयोग दिने निर्णय गरेको पनि उनले सुनाए । अमेरिकाले अघि सारेका शर्तहरुमा त्यो देशमा नागरिक अधिकार छ कि छैन् ? राजनीतकि अधिकार, सुशासनको प्रत्याभुति, उदार आर्थिक नीति, लगानी प्रोत्साहनको वातावरण, मानवअधिकारको सुनिश्चितता्, जनताप्रति उत्तरदायी सरकार, गरिब निवारण, लैङिक समानतालगायतका शर्त र क्राईटएरिया पूरा गर्नेलाई एमसीसी सहयोग गर्ने घोषणा गरिएको थियो ।

त्यसको लागि नेपालले पनि एप्लाई गरेको सुनाउँदै सबै शर्त पूरा गरेर सहयोग लिन छनौट भएको पनि उनले स्मरण गराए । उनले भने,‘२० वटा ईण्डिकेटरमा नेपाल १७ मा उच्च नम्बर ल्याउन सफल भएको थियो । नेपाल छनौट भयो । नेपालले थ्रेसहोल्ड जसलाई पहिलो चरण भनिन्छ, त्यो पनि पार गरेको र दोस्रो कम्प्याक्ट एग्रिमेन्ट, त्यो पनि पार गरेको थियो । सन् २०१४ को डिसेम्बरमा म अर्थमन्त्री हुँदा नेपाल छनौट भएको थियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू