शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता

कृष्ण रोकाया

काठमाडौँ ७ पुस : बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन् ।

पछिल्लो केही दिनदेखि शीतलहरका कारण चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा गोलबजारमा आयोजित सडक सुरक्षा र शीतलहरको समस्यासम्बन्धी अन्तक्रियामा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफ्ना कुनै पनि जनतालाई जाडोमा कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चिसोबाट जोगाउन आश्यक ठाउँमा आगो ताप्ने व्यवस्थासँगै न्यानो लुगा वितरणलगायतका कार्यका लागि पनि आफूहरु तयार रहेकोसमेत जनप्रतिनिधिहरुले बताएका छन् । लहान नगपालिकाका प्रमुख मुनि साहले आफूहरुले गाउँ टोल तथा सार्वजनिक ठाउँमा दाउरा वितरण गरेको र जाडोको अवस्था हेरेर न्यानो कपडा पनि जोहो गरिराखेको जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जाडोबाट जोगाउन आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै जाडोबाट जोगिन न्यानो कपडाहरुको व्यवस्था गरिरहेको बताउनुभयो । सिरहा नगरपालिकाका प्रमुख डा नमिताकुमारी यादवले नगरले केही ठाउँहरुमा दाउरा वितरण, कमम्बल वितरण गरेको जनाकारी दिनुभयो ।

स्थानीय जनताको आवश्यकता हेरी उहाँहरुलाई नगरपालिका र आफ्नो व्यक्तिगत तवरले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शीतलहरलाई मध्यनजरगर्दै स्थानीय तहहरुलाई जनतालाई राहत पु¥याउन तयार रहन निर्देशन दिनुभयो ।

शीतलहरकै कारण कुनै जनताले दुःख झेलेको, कुनै हानी नोक्सानी नहोस् भन्दै त्यसका लागि सतर्क रहन स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, मातहतका सरोकारबाला निकायलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्देशन दिनुभयो ।

अघिल्लो वर्ष शीतलहरका कारण मृत्युसमेत भएकाले यसवर्ष समयमै पूर्वतयारी गर्नुपर्नेमा उहाँको जोड थियो । विगत एकसातादेखि चलेको शीतलहर र चिसोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

वृद्धवृद्धाहरुलाई सिरक र कम्बल वितरण

विगत केही दिनयताको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित सिरहाको विष्णुपुर गाउँपालिका र सुखीपुर नगरपालिकाका वृद्धवृद्धालाई सिरक र कम्बल वितरण गरिएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न वडाका १५ वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वृद्धवृद्धालाई कम्बल वितरण गर्नुभयो ।

यसैगरी इलाका प्रहरी कार्यालय सुखीपुरले चिसोबाट प्रभाबित सुखीपुर नगरपालिका–८ निवासी सुर्जा मण्डल र ८० वर्षीया जगिया मण्डललाई एक थान सिरक र एक थान कम्बल वितरण गरेको हो । मङ्सिरको अन्तिम साताबाट बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । रासस

प्रतिक्रिया