संविधानप्रति सबैले गर्व गर्नुपर्छ : मन्त्री जम्मकटेल

राष्ट्रिय समाचार समिति

सिन्धुली, ७ पुस : प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले संविधानभन्दा बाहिर कोही पनि जान नपाउने बताउनुभएको छ । ऐतिहासिकस्थल सिन्धुलीगढीमा नेपाल अदिवासी जनजाती पत्रकार महासङ्घको राष्ट्रिय भेलालाई सम्बोद्धन गर्दै उहाँले भन्नुभयो, “अहिलेको समावेशी सङ्घीय लोकतान्त्रिक संविधानप्रति सबैले गर्व गर्नु पर्दछ ।”

मन्त्री जम्मकटेलले सरकारको विरोध र स्वच्छ आलोचना गर्न सकिन्छ तर यो व्यवस्थाप्रति नै विरोध गर्नु उपयुक्त नहुने बताउँदै पत्रकारिताको विकास र उन्नयनका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको छ भन्नुभयो । न्यूनतम पारिश्रमिक ऐनअनुसार श्रम गर्ने पत्रकारले श्रमको मूल्य पाउनुपर्ने उल्लेख गर्दै उहाँले प्रदेश सरकारले ल्याएको सञ्चार ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले प्रदेश नं. ३ को नाम नेवा ताम्सालिङ राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई चित्त बुझाउने हो भने नेवा ताम्सालिङ वाग्मती नाम राख्दा पनि फरक नपर्ला ।” फोनिजका अध्यक्ष दण्ड गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया