प्रधानसेनापति कपको उपाधिका लागि आर्मी र एपीएफ भीड्ने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ७ पुस :एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसललाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो । एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभयो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गर्नुभएको थियो ।

दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १०औँ मिनेटमा पहिलो गोल गर्नुभयो । खेलको ८४औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले रु ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया