मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना व्यक्त

कृष्ण रोकाया

रुपन्देही, ९ पुस : प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि पनि साझा हुँदै गएको बताउनुभयो ।
“धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु विविधतायुक्त समाजको एकता हो, यसले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बन्दै जाने विश्वास लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान हुने मार्गप्रशस्त गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने उल्लेख गर्नुभयो । “अहिले मुलुक संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा अघि बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया