त्रिशूलीमा डुबेर तामाङको मृत्यु

राष्ट्रिय समाचार समिति

विदुर, ९ पुस : विदुर नगरपालिका–७ का एक बालकको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।


शङ्कर र उहाँका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो ।

तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ । मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

प्रतिक्रिया