राज्यले धार्मिक आधारमा कसैलाई नागरिक अधिकार दिँदैनः मन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, ९ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले धर्मको आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने बताउनुभएको छ । बनेपा–पनौती ख्रीष्टियान समुदायद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नागरिकले आफूले चाहेको धर्म मान्न पाउने तर राज्यले धार्मिक आधारमा कसैलाई पनि नागरिक अधिकार नदिने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई धार्मिक स्वतन्त्रता छ, संविधानले पनि त्यो प्रत्याभूति गरेको छ तर राज्यले धार्मिक आधारमा छुट्टै नागरिक अधिकार भने दिँदैन ।” उहाँले धर्मका आधारमा राज्यले कसैप्रति दमन नगर्ने पनि बताउनुभयो । “अतिक्रमण र द्वन्द्व निम्त्याउने गतिविधि कसैले पनि गर्नु हुँदैन, राज्य, व्यक्ति वा धार्मिक समुदायले कसैप्रति जबरर्जस्ती दृष्टिकोण राख्न मिल्दैन”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले पुरातनवादी दृष्टिकोणलाई आधार बनाएर अर्को धर्म र सम्प्रदायप्रति अनास्था फैलाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाजमा हिन्दू, क्रिश्चियन तथा अन्य धर्म समुदायभित्र खराब व्यक्ति हुन सक्छन्, अवशेषका रूपमा रहेको सामन्तवादी उत्पादन सम्बन्धका कारण कहिलेकहीँ धर्ममा केही सङ्कीर्णता देखापरेको मात्रै हो ।” धर्मको सारतत्व मानव जातिको कल्याण, अहिंसा, सामाजिक न्याय र सहिष्णुता भएकाले एक धर्मले अर्काे धर्मलाई ‘छिः छिः दुरदुर’ गर्न नहुने उहाँको धारणा थियो ।

सरकारका प्रवक्ता बाँस्कोटाले नेपालमा १० धर्म–सम्प्रदायका मानिस बस्ने भएकाले सबैप्रति राज्यको सम्मान र समान व्यवहार रहने बताउनुभयो । “कसैको निजी आस्था र धार्मिक स्वतन्त्रताप्रति राज्यले हस्तक्षेप गर्दैन, हाम्रोमा कहिल्यै पनि धार्मिक द्वन्द्व भएको छैन र नागरिकले पनि त्यसलाई अस्वीकार गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल बुद्धधर्मको जननी तथा ऋषिमुनिको देश भएको बताउँदै उहाँले उहाँले धर्म आफैँले कुनै मानव जातिविरुद्ध अशान्ति फैलाउन नहुनेमा जोड दिनुभयो ।

मन्त्री बाँस्कोटाले धार्मिक कट्टरताले संसारमा ठूला समस्या निम्तिने गरेको स्मरण गराउँदै यसबाट सचेत रहन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभौगोलिक एउटा सिङ्गो सुन्दर देश हो, जहाँ जुनसकै धर्म मान्नेले पनि नेपाल देश घुम्न सक्छ र घुम्नुपर्छ, यसको संस्कृति फैलाउनुपर्छ ।”

उहाँले क्रिश्चियन धार्मिक सम्प्रदायलाई आफूलाई अलग्गै नठान्न आग्रह गर्दै सरकारको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन आग्रह गर्नुभयो । सो अवसरमा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेलगायतले ख्रीष्ट जन्मोत्सवको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया