‘सिद्धबाबा’लाई ३ लाख धराैटीमा रिहा गर्न अदालतकाे आदेश

मनिषा थापा

१४ पुष : आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कृष्णबहादुर गिरी उर्फ कृष्ण दास ‘सिद्धबाबा’ ३ लाख धरौटीमा छुट्ने भएका छन् । सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश दिएकाे हाे ।

जिल्ला अदालत, सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीकाे मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीकाे बेन्चमा परेकाे थियाे ।

जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पाेखरेलले कृष्णबहादुर गिरीलाई ३ लाख धराैटीमा रिहा गरिने बताए । काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि मुटुमा समस्या देखिएकाे भन्दै अभियाेग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ हाेमकाे आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेकाे थियाे ।

 

प्रतिक्रिया