नक्कलीलाई सक्कली सुन भन्दै कारोबार गर्ने ३ जना पक्राउ

admin

कैलाली, १६ पुस : प्रहरीले नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेका हो ।

पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका १ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका छन् ।

उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाएर राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

प्रतिक्रिया