जनकपुरधाम : धनुषामा एक यूवकलाई टिपरले किचेर हत्या गरिएको छ। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई सोही स्थानका दिलीपकुमार महतोको रोक्न खोज्दा टिपरले किचेर हत्या गरिएको हो ।
अवैध रुपले उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालयका एक प्रहरीले जनाएका छन्। उनको अनुसार, महतो आज (शुक्रबार) विहान ४ बजेको समयमा अवैधरुपमा उत्खनन गर्न नहुने र नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीसमयमा उनीमाथि टिपरले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ । चालकको नाम भने प्रहरीले खुलाएको छैन । यसैबीच घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले चक्काजाम गरेका थिए तर प्रहरीले अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन सञ्चालनमा ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।