काठमाडौं : मकवानपुर हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा ११ की २० वर्षीया एलिसा पाख्रिन, सोही उपमहानगरपालिका वडा ४ का २४ वर्षीय आशिष बल, २१ वर्षीय ह्याक्चर भन्ने बुद्ध लामा,१८ वर्षीय भापु भन्ने सिमोन परियार र २५ वर्षीय घनटाउके भन्ने सुशील थापामगर रहेको प्रहरीले जानकारी दिएको छ।
यसरी खुल्यो हत्याको रहस्य
माघ ४ गते शनिवार अजिताको हत्या भएको घटना सार्वजनिक भयो। तर, उनको हत्या कसले गर्यो पत्ता लागेन। त्यसपछि आइतवार प्रहरीले घटनाको अनुसन्धान गर्न एउटा टेक्निकल टिम बनाउँछ। एलिसासँग मृतक अजिता भुजेलको मोबाइल फेला पार्छ। एलिसाले त्यो मोबाइल आफूलाई आशिष बलले दिएको बताउँछिन्। त्यसपछि प्रहरी टिम निस्कन्छ आशिषको खोजीमा।
केही समयमा नै आशिषलाई नियन्त्रणमा लिन सफल हुन्छ प्रहरी। तर मोबाइल भने उनको साथमा भेटिँदैन। मोबाइल हयाक्चर भन्ने बुद्ध लामाको साथमा रहेको जवाफ दिन्छन् अशिषले। प्रहरी बुद्ध लामाको फलोमा लाग्छ। बुद्ध पक्राउ पर्छन्- तर मोबाइल उनको साथमा पनि हुँदैन।
बुद्धले भापुलाई दिएको भन्दै पन्छिन्छन्। भापु अर्थात सिमोन परियार ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सह-चालक। यति बेलासम्म प्रहरीले चार जनालाई पक्राउ गरिसकेको हुन्छ। माघ ३ गते राति ९/१० बजे सिमोनले कमानेबाट बसपार्क पुगेर सुशिल थापा मगरलाई भेटेको खुल्छ। त्यही सिमोनले सुशीलसँग यौन सम्पर्क गर्न भनी सल्लाह गरेको र सोही ट्रक सुनिल थापाले चलाई थाना भर्याङमा राति अन्दाजी १२ बजेको पुगेको अनुसन्धानमा खुल्छ।
त्यसपछि अजितालाई भेटेको र ४ जनाले यौन सम्पर्कका लागि ७ हजार रूपैयाँमा कुरा मिल्छ। यौन सम्पर्कपछि अजिताले पैसा माग्दा विवाद भएपछि सुशीलले घाँटीमा ट्रकमा रहेको बिजुलीको तारले बाँधी अंठ्याएर बेहोस बनाएको खुल्छ।
अजिता बेहोस भएपछि उनलाई ट्रकमा राखेर क्याम्पा डाँडाको बाटो छेउमा राखी उनीहरु फरार हुन्छन्। प्रहरीले घटनाको अनुसन्धानमा सहयोगको लागि नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो।