काठमाडौं, माघ २८ : पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या नै भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ । घटनाको अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले पनि घरेलु कामदारले नै कार्कीको हत्या गरेको दोहोर्याएको छ । पोस्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार मुना कार्कीको मृत्यु सांघातिक आक्रमणबाटै भएको देखिएको छ ।
शवको पोस्टमार्टमको रिपोर्ट तयार भइसकेको र मृत्युको कारण हत्या नै भएको देखिएको पोस्टमार्टममा संलग्न पाटन अस्पतालका चिकित्सक कश्यप श्रेष्ठले जानकारी दिए । यता, कार्कीका आफन्त र घरमा काम गर्ने युवतीसँग पनि बयान लिइरहेको ललितपुर महानगरीय प्रहरीले मुनाको टाउकोमा चोट र घाँटीमा डोरीको डाम रहेकाले घरमा काम गर्ने विजय चौधरीले नै हत्या गरेकोमा शंका नरहेको बताएको छ ।
ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबार बिहान ४९ वर्षीया मुना कार्कीको हत्या भएको थियो । कार्कीको घरमा काम गर्ने २२ वर्षीय युवक विजय चौधरीले पनि पासो लगाइ आत्महत्या गरेका थिए ।