सरकारले कुनै पनि नराम्रो काम गरेको छैन : सञ्‍चारमन्त्री बाँस्कोटा

अस्मिता बेल्बासे

काठमाडौं, १ फागुन : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन् ।

बिहीबार आयोजित नियमति पत्रकार सम्मेलनका क्रममा सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफ दिँदै उनले भने, सरकारले कुनै पनि नराम्रो काम गरेको छैन । सरकारले राम्रा-राम्रा काम मात्रै गरेको छ । नराम्रो देख्‍न आँखा नराम्रा हुन् । नराम्रो लेख्‍ने कलमका विषयमा पनि मैले बेलाबेला प्रश्‍न गर्ने गरेको छु ।

सरकारले राम्रा काम के गर्‍यो भन्‍ने प्रश्‍नको जवाफमा उनले जनताको भ्रष्टाचारसम्बन्धी सूचांकमा पनि सुधार भएको बताए । उनले भने, ‘डुइङ बिजनेसमा हामी १६ स्थान माथि उक्लेका छौं । लगानीको वातावरण बनिरहेको छ । ह्यापिनेस इन्डेक्समा राम्रो सुधार भएको छ । मुलुकमा शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको छ । हामीले ग्लोबल पिस इन्डेक्समा हामी १२ स्थान उक्लेका छौं ।’

विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्था राम्रो भएको, सुखी नेपाली, समृद्धि नेपाली कार्यक्रमको नजजिता देखिन थालेको र जनताको जीवनस्तरमा सुधार आएको तर त्यो सरकारले सोचे जस्तो नभएको उनले बताए । डेमोक्रेसी इन्डेक्समा समेत नेपालको स्थान सुधार आएको भन्दै मन्त्री बाँस्कोटाले भने, अधिनायकवादको हौवाले हावा खायो ।’

जयनगर विजलपुरा रेल यही वर्ष गुड्ने, पूर्वपश्चिम रेलमार्गको अध्ययन भइसकेको तथा काठमाडौं केरुङ रेलको प्रारम्भीक अध्ययन भइसकेको, पानी जहाजको कार्यालय खोलिएको भन्दै उनले भने, ‘३ हजारभन्दा बढी सडक कालोपत्रे भएको छ ।’

प्रतिक्रिया