अवैध लागुऔषधसहित चारजना पक्राउ

राष्ट्रिय समाचार समिति

सर्लाही, २ फागुन:सर्लाही प्रहरीले लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट, स्पास्मो र एक्सप्लोन सिरफसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० सय मिलिलिटरसहित दुईवटा मोटरसाइकल र त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।

बुधबार दिउँसो गस्ती गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरीप्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिकाका खगेन्द्र महतो, सुजित मगर, सरोज बलम्पाकी मगर र दिलबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरीप्रमुख तथा प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । उनीहरुले प्रयोग गरेको दुई मोटरसाइकलसहित ६ थान मोबाइल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

प्रतिक्रिया