आज दुई घण्टाजति सबै उडान प्रभावित हुने

admin

काठमाडौं, ९ फागुन : महाशिवरात्रि र सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक हवाई प्रस्तुतिका कारण शुक्रबार केही समय आन्तरिक र बाह्य उडानहरू प्रभावित हुने नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेशन निर्देशक सुरेशमान सिंहका अनुसार सेना दिवसमा नेपाली सेनाले गर्ने हवाई प्रदर्शनका कारण शुक्रबार दिउँसो उडानहरू प्रभावित हुने बताए । यसै साता उक्त प्रदर्शनीको तयारी गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा ठप्प भएपछि सेनाको आलोचना भएको थियो।

उनले भने, कार्यक्रम भनेको कमसेकम पौने दुई घण्टादेखि दुई घण्टासम्म चल्छ। हामीलाई चाहिने अनुसारको मौसम अहिले छैन, सम्भवत: शुक्रबार पनि यस्तै हुन्छ होला। त्यही भएर बाधा पर्छ, उडानमा विलम्ब हुन्छ।

नेपाली सेनासँग छलफल गरेको र शुक्रबार अपराह्ण कम्तीमा दुई घण्टासम्म विमानस्थलको सेवा प्रभावित हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक निर्देशकले बताए। नेपाली सेनाले बर्सेनि महाशिवरात्रिका दिन स्थापना दिवस मनाउँछ।

उनले उक्त कार्यक्रमका कारण विमानस्थल बन्द नभए पनि अन्तर्राष्ट्रिय र घरेलु उडानहरू प्रभावित हुने बताए। नेपाली सेनाको जहाजको अवस्थितिअनुसार अरू जहाजको आवतजावत निर्धारण हुन्छ। त्यही भएर विमानहरू उड्न वा अवतरण गर्न सक्छन् कि सक्दैनन् भनेर म अहिल्यै भन्न सक्दिनँ, सिंहले भने।

उनका अनुसार पाँच किलोमिटरभन्दा बढी दुरीसम्म देखिने स्थिति अर्थात् भिजिबिलिटी भए कम समस्या हुन्छ। तर बिहीबारसम्म ३.५ किलोमिटरभन्दा बढी भिजिबिलिटी थिएन।

सैनिक दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् भने प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुने छन्।

प्रतिक्रिया