काठमाडौं, ९ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।
यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ ।
विगत वर्षको अनुभव भन्दा यसपालिको नियमलाई कार्यान्वयन गर्न सहज भएको त्यहाँका आधिकारी बताउँछन् । दिउँसो २ः३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गरेको अनुमान गरिएको जानकारी छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
शिवरात्रिका दिन रातभर दर्शनार्थीका लागि पशुपतिका चारै ढोका खुला हुनेछ । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो ।
जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।
दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्ने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ ।